कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारमा चुनौती, २७३ जनाको मृत्यु

काठमाडौं – कोलम्बियामा शक्तिशाली भूकम्प गएको केही दिनपछि जीवित व्यक्तिको खोजी गर्ने समय बित्दै जाँदा उद्धारकर्ताको आशा कमजोर बन्दै गएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्रता दिए पनि कतिपय क्षेत्रमा खोज तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम सुरु भएको रोयटर्सले जनाएको छ ।

गत सोमबार स्थानीय समयअनुसार बिहान साढे ७ बजे गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पले पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा ठूलो क्षति पुर्‍याएको छ ।

सरकारी तथ्यांकअनुसार भूकम्पमा परी हालसम्म कम्तीमा २७३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सयभन्दा बढी घाइते भएका छन् । अझै ३७७ जना बेपत्ता रहेको जनाइएको छ ।

राजधानीपछिको ठूलो सहर मानिने कालीमा उद्धार टोलीले अधिकांश प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने काम सुरु गरेका छन् । यद्यपि, नौ स्थानमा खोज तथा उद्धार अभियान अझै सक्रिय रहेको नगरप्रमुख अलेजान्द्रो एडरले बताउनुभएको छ । ती क्षेत्रमा भग्नावशेषभित्र जीवित व्यक्ति भए–नभएको पत्ता लगाउन सहज होस् भनेर शान्त रहन आग्रह गरिएको छ ।

कालीको टोरेस डेल लिमोनार आवासीय क्षेत्रमा स्वयंसेवक, उद्धारकर्मी र सुरक्षाकर्मीले भग्नावशेषमा खोजी जारी राखेका छन् । केही स्थानबाट ग्यास सिलिन्डरलगायत जोखिमपूर्ण सामग्री निकाल्नुपरेकाले उद्धारका क्रममा विशेष सावधानी अपनाइएको छ ।

स्थानीय रेस्टुरेन्ट व्यवसायी तथा अन्य स्वयंसेवकहरूले उद्धारकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि दैनिक करिब १ हजार जनालाई खाना उपलब्ध गराइरहेका छन् ।

भूकम्पबाट प्रभावित ग्रामीण तथा दुर्गम क्षेत्रमा भने उद्धार र राहत कार्य अझ चुनौतीपूर्ण बनेको छ । कालीको उत्तरपश्चिममा रहेको बुएनाभेन्तुराका केही प्रभावित बस्तीमा उद्धार टोली अझै पुग्न नसकेको अन्तर्राष्ट्रिय उद्धार संस्थाले जनाएको छ । सशस्त्र समूहका कारण केही बस्तीमा पहुँच कठिन भएको र कतिपय क्षेत्रमा राहत सामग्री वितरणमा समेत समस्या देखिएको बताइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खानेपानी, ग्यास र विद्युत् सेवा अवरुद्ध भएका छन् । भूकम्पपछि १५० भन्दा बढी पराकम्प रेकर्ड भइसकेकाले उद्धार कार्यमा थप कठिनाइ भइरहेको छ ।

सरकारले प्रारम्भिक अनुमानमा भूकम्पबाट १२ हजार ५ सयभन्दा बढी घरमा क्षति पुगेको जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्