काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरूङमार्ग ‘नागढुंगा सुरूङमार्ग’ आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने सञ्चालनका लागि आवश्यक सुरक्षा, उद्धार तथा व्यवस्थापनसम्बन्धी अन्तिम तयारी भइरहेको छ।
उनका अनुसार सुरूङमार्ग सञ्चालनका लागि आपत्कालीन उद्धार सामग्री, दक्ष जनशक्ति, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण प्रणाली तथा अन्य प्राविधिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। पश्चिमतर्फ पहिरो जोखिम न्यूनीकरणका केही काम बाँकी रहे पनि त्यसले सञ्चालनमा कुनै असर नपर्ने उनले बताए।
नागढुंगा सुरूङमार्ग आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गते सुरु भएको थियो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनबीच ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि पटक–पटक म्याद थप गरिएको थियो। निर्माण सम्पन्न भएसँगै अब ठेकेदार कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।
सरकारलाई हस्तान्तरणपछि सुरूङमार्गको सञ्चालन तथा व्यवस्थापन चिनियाँ संलग्न संयुक्त कम्पनी युक्सिन–एआरटीले गर्नेछ। सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क निर्धारण गरेको छ। मिनीबस तथा मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। त्यस्तै बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।
यो सुरूङमार्गले काठमाडौंको बलम्बु र धादिङको सिस्नेखोलालाई जोड्नेछ। हाल रहेको करिब ८ किलोमिटर दूरी सुरूङमार्ग सञ्चालनपछि ५ किलोमिटरमा सीमित हुनेछ। यसले करिब २.८ किलोमिटर दूरी घटाउनुका साथै काठमाडौं प्रवेश गर्दा करिब ३३ मिनेट र बाहिरिँदा २३ मिनेटसम्म यात्रा समय बचत हुने अपेक्षा गरिएको छ।
नागढुंगा–सिस्नेखोला सडकखण्डमा दैनिक हुने सवारी जाम न्यूनीकरण, इन्धनको खपतमा उल्लेख्य बचत तथा यातायातलाई सहज र सुरक्षित बनाउने उद्देश्यले निर्माण गरिएको यो आयोजना नेपालकै आधुनिक पूर्वाधार विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
आयोजनाअन्तर्गत एउटा मुख्य सुरूङ र एउटा उद्धार (रेस्क्यु) सुरूङ निर्माण गरिएको छ। मुख्य सुरूङसँगै करिब २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरूङ निर्माण गरिएको छ, जहाँ आकस्मिक अवस्थामा एम्बुलेन्स, दमकललगायतका उद्धार सवारी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। दुवै सुरूङलाई सात स्थानमा क्रस–प्यासेजमार्फत जोडिएको छ, जसले आपतकालीन उद्धारलाई थप प्रभावकारी बनाउनेछ।
करिब २२ अर्ब रुपैयाँभन्दा बढी लागतको यस आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण तथा नेपाल सरकारको लगानी रहेको छ। आयोजना सम्पन्न भएसँगै काठमाडौं उपत्यकाको प्रवेशद्वारमा रहेको दीर्घकालीन ट्राफिक जामको समस्या न्यूनीकरण हुनुका साथै देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुआत हुने अपेक्षा गरिएको छ।




