काठमाडौं – मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्ने चेतावनी दिएपछि सडक विभागले देशभरका जोखिमयुक्त सडकखण्डमा विशेष सतर्कता अपनाएको छ। विभागले सम्भावित अवरोधलाई तत्काल हटाउन आवश्यक उपकरण र जनशक्ति पूर्वतयारीका साथ परिचालन गरेको जनाएको छ।
प्राधिकरणले मंगलबार र बुधबार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्दै सम्भावित बाढी, पहिरो र सडक अवरोधका जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। साथै जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सोही निर्देशनअनुसार सडक विभागले पहिरोको उच्च जोखिम रहेका स्थानमा भारी उपकरण र प्राविधिक टोली परिचालन गरेको छ। विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार यातायात अवरुद्ध हुनासाथ तत्काल सडक सञ्चालनमा ल्याउन आवश्यक सबै तयारी पूरा गरिएको छ। आवश्यक परे निजी क्षेत्रका उपकरणसमेत परिचालन गर्ने गरी तीन तहको कार्ययोजना बनाइएको उनले बताए।
यस वर्ष नागढुंगा–मुग्लिन सडकखण्डका नौवटा उच्च जोखिमयुक्त स्थानमा विशेष निगरानीसहित उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। गत वर्ष बाढीपहिरोबाट क्षति पुगेका बीपी राजमार्ग, मेची राजमार्गलगायतका सडकको मर्मत तथा संरक्षणका काम पनि क्रमशः अघि बढिरहेको छ।
बीपी राजमार्गको जिम्मेवारीमा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले सम्भावित विपद्लाई मध्यनजर गर्दै चौबीसै घण्टा प्राविधिक टोली र मेसिन तयारी अवस्थामा राखेको जनाएको छ। आवश्यकता परे वैकल्पिक माथिल्लो ट्र्याक प्रयोग गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
यस्तै चीनसँग जोडिएको अरनिको राजमार्गमा पनि सडक डिभिजन कार्यालय चरिकोटले संवेदनशील क्षेत्रमा एक्साभेटर, लोडर र अन्य उपकरण तयारी अवस्थामा राखेको छ। कार्यालयका अनुसार पहिरो वा अन्य प्राकृतिक विपद्का कारण सडक अवरुद्ध भए तत्काल खुलाउने गरी पूर्वतयारी गरिएको छ।
सरोकारवाला निकायहरूले मनसुनको समयमा अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।





