हिजोदेखि अवरूद्ध वीपी राजमार्ग खुल्न अझै समय लाग्ने, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

File Photo

काभ्रे । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग हिजो दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी, ठूलोढुंगा, माम्ती, नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा रहेका डाइभर्सन बगाएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सवारी साधन ‘होल्ड’ गरिएको थियो। आज भने रोकिएका गाडीलाई सुरक्षित स्थानतर्फ पठाइएको छ।

बीच बाटोमै अलपत्र परेका यात्रुलाई पनि वैकल्पिक व्यवस्था गरी गन्तव्यतर्फ पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जनाएको छ। मङ्गलटारसम्म पुगेका सवारीलाई त्यहीँ रोकेर यात्रुलाई पैदल हिँडाइ अर्को सवारीमार्फत तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ।

हाल बाढीले क्षति पुर्‍याएको क्षेत्रमा डाइभर्सन मर्मतको काम भइरहेको छ। मौसममा सुधार आएपछि र मर्मत कार्य सम्पन्न भएपछि मात्रै सवारी आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।

सडकको अवस्थाबारे थप जानकारी लिन नेपाल प्रहरी को १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्