काठमाडौँ – “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ मनाइएको ४५औँ विश्व खाद्य दिवस–२०२५ को अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिका (दार्चुला) लाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको छ।
सम्मान कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार, सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा र डा. दीपक कुमार खराल, कृषि विभागका महानिर्देशक प्रकाश सन्जेल, साथै मन्त्रालयका सहसचिव, उपसचिव तथा कृषि विज्ञहरूको उपस्थिति रहेको थियो।
अपिहिमाल गाउँपालिकाले ‘अर्गानिक अपि’ नाराका साथ सञ्चालन गर्दै आएको विषादीरहित कृषि उत्पादन प्रवर्द्धन कार्यक्रमका कारण यो सम्मान प्राप्त गरेको हो। गाउँपालिकाले स्थानीय रैथाने बालीहरू — जौ, कोदो, फापर, चिनु, कागुनु, लसुन, आलु, मार्सी धान, मसला बाली तथा फलफूल खेतीमा अर्गानिक प्रणालीलाई प्राथमिकता दिंदै आएको छ।

विशेष गरी अर्गानिक स्याउ र ओखर उत्पादनमा प्रोत्साहन दिंदै गाउँपालिकाले स्थानीय उत्पादनलाई बजार र पर्यटनसँग जोड्ने एग्रो–टुरिजम अभियान अघि सारेको छ। हालसम्म गाउँपालिकाले २ स्थानमा कोषेलीघर स्थापना, जौको बिस्कुट र डालेचुक उत्पादन, साथै होमस्टे क्षेत्रमा स्थानीय अर्गानिक उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको छ।
त्यस्तै, थोपा, पाइप र कुलो सिँचाइ प्रणालीको विस्तारमार्फत स्थानीय कृषकलाई उत्पादन वृद्धिमा सहयोग पुर्याइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार, “यो सम्मान अपिहिमालका जनप्रतिनिधि, कर्मचारी र कृषक सबैको सामूहिक मेहनतको प्रतिफल हो। यसले हामीलाई ‘अर्गानिक अपिहिमाल’ बनाउने अभियानलाई अझ सशक्त बनाउन प्रेरणा दिएको छ। साथै, यसले एग्रो टुरिजम प्रवर्द्धनमा नयाँ हौसला प्रदान गरेको छ,” उनले बताए।

यस उपलब्धिका लागि अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, दार्चुला जिल्ला कृषि ज्ञान केन्द्र, तथा कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ।
यसैगरी, कोशी प्रदेशको लालीगुराँस नगरपालिका (तेह्रथुम), मधेश प्रदेशको बरहथवा नगरपालिका (सर्लाही), बागमती प्रदेशको जिरी नगरपालिका (दोलखा), गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका (गोरखा), कर्णाली प्रदेशको सिमकोट गाउँपालिका (हुम्ला) र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका (दार्चुला) लाई यस वर्षको विश्व खाद्य दिवसमा प्रदेशगत उत्कृष्ट पालिकाका रूपमा सम्मान प्रदान गरिएको
अपिहिमाल गाउँपालिकाले विषादीरहित अन्न, फलफूल र औषधीय बाली उत्पादनमा जोड दिँदै ‘अर्गानिक अपिहिमाल’ अभियानलाई दिगो विकास र स्वच्छ खाना–सुखद् भविष्यको दिशामा अघि बढाएको छ। यो सम्मानले गाउँपालिकाको दिगो कृषि, स्वस्थ जीवन र हरित अर्थतन्त्रप्रतिको प्रतिबद्धता झल्काउँछ।







