बुटवलको कोरोना विशेष अस्थायी अस्पताल विरामीले भरियो

बुटवल – कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ ।

धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन शय्या (बेड) बनाइएको थियो । अहिले सबै बेड कोरोना संक्रमितले भरिएका छन् । रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका बिरामी भर्ना भएका हुन् ।

भवन बाहिर टेन्टमा १४ बेड बनाइएको छ । तर सर्पदंशको डर र वर्षायाम शुरु हुन थालेकाले त्यहाँ बिरामी नराखिने भएको छ । ‘नयाँ बेड तयार नहुँदासम्म यहाँ बिरामी भर्ना गर्न सक्ने अवस्था छैन’ अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘भवनबाहिर खुला चौरमा १४ बेड रहे पनि बिरामी नराख्ने भयौं ।’

धागो कारखाना परिसरमै अर्को भवनमा दुई सय बेड थप्ने निर्णय भएको छ । सवै प्रक्रिया पूरा गरेर आवश्यक पुर्वाधार र जनशक्ति थप गर्नुपर्ने भएकाले समय लाग्ने अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए । ‘निर्णय भएको छ, विद्यमान कानून अनुसार टेण्डरलगायतका काम गर्नुपर्ने भएकाले समय त लाग्छ’ उनले भने ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा आवश्यक पूर्वाधार र स्वास्थ्य जनशक्ति थप गरिने अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्