काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपालले स्पष्ट रूपमा सबै प्रकारका आतंकवादी गतिविधिको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “नेपालले सबै प्रकारका आतंकवाद विरूद्धको आफ्नो दृढ अडान अनुसार तत्काल र स्पष्ट रूपमा सो बर्बर आतंकवादी हमलाको निन्दा गरेको थियो। नेपाल आतंकवादविरूद्धको लडाइँमा सबैसँग एकजुट छ।”
मन्त्रालयले नेपालले आफ्ना छिमेकी राष्ट्रविरूद्ध कुनै पनि शक्ति वा समूहलाई आफ्नो भूमि प्रयोग गर्न नदिने पनि स्पष्ट पारेको छ। “यो सैद्धान्तिक अडानअनुसार नेपालले कुनै पनि विरोधी शक्तिलाई आफ्ना छिमेकी राष्ट्रविरूद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालले दिगो शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति, स्थायित्व र सहयोगको पक्षमा छ।” यसबीच, जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारस्वरूप भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ। भारतले यस कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। भारतीय पक्षका अनुसार उक्त सैन्य कारबाही भारतीय समयअनुसार बिहान १:०५ देखि साढे १ बजेसम्म चलेको थियो।
भारतले पाकिस्तान–नियन्त्रित कश्मिरका पाँच स्थान र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर आतंकवादी संरचनामाथि लक्षित कारबाही गरेको दाबी गरेको छ। यस घटनाले दक्षिण एशियाली क्षेत्रको सुरक्षा अवस्था र कूटनीतिक सम्बन्धमा थप चासो बढाएको छ।