ह्वाइट हाउसका २ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि, ह्वाइट हाउस प्रयोग गर्ने सबैले अनिवार्य मास्क लगाउनुपर्ने

काठमाडौं – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुमा पनि कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टी भएको छ ।

कार्यालयमा कार्यरत दुई जना कर्मचारीहरुमा कोरोना पुष्टी भएपछि ह्वाइट हाउस प्रवेश गर्ने सबै कर्मचारीहरुलाई अनिवार्यमास्क लगाउन आदेश दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका एक जना सहयोगी र उपराष्ट्रपति माइक पेन्सका सहायक कोरोना संक्रमित भएर विरामी परेपछि राष्ट्रपति कार्यालय प्रवेश गर्दा मास्कको प्रयोग अनिवार्य गरिएको हो । बताइए अनुसार राष्ट्रपति ट्रप्पका सहयोगी र उपराष्ट्रपति पेन्सका प्रेस सल्लाहकार र एक जना सहयोगीलाई संक्रमण भएको छ ।

कर्मचारीहरुलाई आफ्नो काम गर्ने टेबुलमा बस्दाको अवस्थामा बाहेक मुख छोपिनेगरी मास्क लगाउन र सहकर्मीहरुसंग शारीरिक दूरी कायम गरेर बस्न आदेश दिइएको छ । संक्रमणको आशंकामा ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलका तीनजना सदस्य दुई हप्ताका लागि एकान्तवासमा बसिसकेका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू अरु व्यक्तिबाट टाढै रहनेहुँदा मास्क अनिवार्य नभएको भन्दै मास्क लगाउन अस्विकार गरे । उपराष्ट्रपति पेन्सले पनि आफू सेल्फ क्वारेन्टाइनमा नबस्ने बताए । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाका कारण १३ लाख ४६ हजार भन्दा बढी विरामी भएका छन् भने ८० हजार ३५२ जनाको मृत्यु भएको छ ।-NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्