सान इन्टरनेशनल कलेजको २५ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

काठमाडौं– काठमाडौं – सान इन्टरनेशनल कलेजले आफ्नो २५ औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, विद्यालय तथा क्याम्पसका प्रमुखहरू, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरप्रमुख घनश्याम गिरीले सान इन्टरनेशनल कलेज चन्द्रागिरि नगरपालिकामा स्थानान्तरण भएसँगै यहाँको शिक्षा क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताउँदै कलेजको योगदानप्रति प्रशंसा व्यक्त गरे। साथै, नगरपालिकालाई शैक्षिक हबको रूपमा विकास गर्न निजी तथा संस्थागत शैक्षिक संस्थाहरूको भूमिकालाई महत्वपूर्ण भएको उनले जोड दिए।

कार्यक्रमका अवसरमा क्याम्पसका कार्यकारी निर्देशक कर्ण बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरे भने विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। दुर्गा तामाङ, अनुष्का चौधरी, र एञ्जेल गमालले आकर्षक नृत्य प्रस्तुत गरी दर्शकहरूको मन जिते।

यसै अवसरमा बायोटेक र बीबीएका विद्यार्थीहरूको बिदाइ तथा कक्षा ११, बीबीए, एलएलबी, सीएसआईटी, र एमबीएका नयाँ विद्यार्थीहरूको स्वागत गरियो। विद्यार्थीहरूद्वारा प्रस्तुत गीत, कविता, विविध साँस्कृतिक नृत्य तथा नाटकले कार्यक्रममा विशेष रंग थप्यो।

क्याम्पसका अध्यक्ष डा. सुवास घिमिरेले आफ्नो सम्बोधनमा २५ वर्षसम्म सान इन्टरनेशनल कलेजलाई विश्वास र साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे। साथै, कलेजमा प्राविधिक शिक्षाका नयाँ कार्यक्रमहरू सञ्चालन हुन थालेपछि यसले देशभरका विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गर्न सफल भएको धारणा राखे।

सान इन्टरनेशनल कलेज हाल चन्द्रागिरि नगरपालिका वडा नं. १४ स्थित आफ्नै भवनमा सञ्चालन भइरहेको छ। २५ वर्षे यात्राका अनुभव र आगामी लक्ष्यसहित कलेजले अझ नवीन तथा गुणस्तरीय शैक्षिक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्