इन्धनको मूल्य तत्काल घट्दैन, नाफा कोरोना कोषमा जम्मा हुन्छ : मन्त्री भट्ट

काठमाडौं – अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगर्ने बताए । मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको मन्त्री भट्टको भनाइ छ ।

‘आर्थिकरुपले सरकार कमजोर अवस्थामा छ, निगमको मूनाफा कोरोना कोषमा पठाउन थालेका छौं‌, तत्काललाई मूल्य घट्दैन पछि सोच्न सकिन्छ’ मन्त्री भट्टले भने ।
भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई एक लिटरमा पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा, मट्टीतेलमा ५५ रुपैयाँ ३५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ३३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन अन्तर्रा्ष्ट्रियतर्फ ८४ रुपैयाँ ६४ पैसा नाफा छ ।

यस्तै खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डरमा एक सय ८१ रुपैयाँ ७० पैसा नाफा छ । उल्लेखित नाफा सरकारले लिने सबै प्रकारको करकट्टी गरेर भएको नेपाल आयल निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्