काठमाडाैं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी जाने भएका छन् । तीन दिने औपचारिक भ्रमणमा क्रममा नेपालमा रहेका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जान लागेका छन् ।
महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८: ५० बजे लुम्बिनी पुग्नेछन् । गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतकाे कार्यक्रम समेत रहेकाे छ ।
मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ । महासचिव गुटेरेसले लुम्बिनीमा वृक्ष रोपण गर्नेछन् ।
लुम्बिनीमा डेढ घन्टा बिताएपछि गुटेरेस १०ः३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।