निजामुद्दिनमा भएको धार्मिक सभाका सहभागि एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्रा्ष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन् ।

दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले पछि भारतको गृहमन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो । कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो, र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । परीक्षणको रिपोर्ट बिहीबार साँझ आएको हो । जसमा ६६ वर्षीय नेपाली पुरुषमा कोभिड–१९ भाइरस देखिएको हो । कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ । र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले जानकारी दिए । ‘अरु कुनै समस्या नभएकाले रिपोर्ट पोजिटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको डा. कुलदिप सिंहले बताए । अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ । र, उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य छ । अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन् ।

दुई साताअघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज –केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्रा्ष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो । ५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा भारतीय र विदेशीगरी चार हजारभन्दा बढीको सहभागिता रहेको बताइएको छ । तिनीहरुमध्ये एक हजार पाँच सयभन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यहीँ रोकिएका थिए । तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो । जसमध्ये एक हजार ८ सय जनालाई क्वरन्टाइनमा पठाइएको थियो । साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी सुरु गरेको थियो ।

भेलामा ठ्याक्कै कति नेपाली सहभागी थिए भन्ने अझै यकिन हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको छ । त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ । हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारेन्टाइनमा राखिएको छ । र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन ।
तर, अम्बालाको पछिल्लो घटनाले नेपालीहरुको संख्या धेरै हुने देखाएको छ । भारतीय सुरक्षा स्रोतले नेपालीहरुको संख्या प्रस्ट हुन अझै केही दिन लाग्ने बताएका छन् । स्रोतका अनुसार उत्तरप्रदेश र राजस्थानमा पहिचान गरिएका भेलाका सहभागीहरुमध्ये केही नेपाली नागरिक रहेका छन् । तर, तिनीहरुको प्रस्ट विवरण भने आउँन बाँकी रहेको छ । भेलाका नेपाली सहभागी पनि अरुसँगै भारतका विभिन्न राज्यमा पुगेको हुनसक्ने भारतीय सुरक्षा स्रोतले दाबी गरेको छ । र, अम्बालाको पछिल्लो घटनाले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ ।

विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकारका लागि कोरोना महामारी नियन्त्रण ठूलो टाउको दुखाइ बनेको छ । भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २ हजार ६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यो भेलासँग जोडिएको दाबी गरेको छ । पछिल्लो चार दिनमा मात्र भारतमा १२ सयभन्दा बढी नयाँ केस देखिएका छन् ।

त्यसमध्ये एक चौथाइको केसको तार निजामुद्दिन भेलासँग जोडिएको दाबी भारतीय अधिकारीहरुले गरेका छन् । त्यसैगरी भारतका १८ राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगी जमातसँग रहेको दाबीसमेत मन्त्रालयको छ । भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन् ।

कान्तिपुरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्