काठमाडौं– नेपाल व्यापार संघले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई १९ बुँदे ज्ञापन–पत्र बुझाएको छ । शुक्रवार मन्त्रीको निजी निवासमा भेटेर अध्यक्ष हरि गौतम सहित नेपाल व्यापार संघका पदाधिकारीले ज्ञापन पत्र बुझाएका हुन् । भेटकाक्रममा उहाँहरुले बधाई तथा शुभकामना समेत दिएका छन् ।
संघले अर्थमन्त्री महतलाई नेपालको पछिल्लो आर्थिक अवस्था दयनिय बन्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै आर्थिक क्रियाकलापमा निजी क्षेत्रको सहभागितालाई सहज बनाउन माग गरेको छ ।
कोरोना महामारीका बेला व्यावसायीहरू ठूलो मारमा परेको र हाल आएर पनि बैंकको तीतो ब्याजदर तथा वर्तमान अर्थतन्त्रले पलायन हुनुपर्ने अवस्था आएकोले यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।
राष्ट्रको खस्कदो अर्थतन्त्र सुधार भइ सिंगो अर्थतन्त्रले नयाँ पालुवा फेर्नेमा आफुहरु विश्वस्त रहेको र आर्थिक मेरुदण्डका रूपमा रहेको निजीक्षेत्रलाई सहजरूमा अगाडी बढाउन, उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्याको निराकरण गरि सहज व्यवसायमैत्री वातावरण निमार्णका लागि आवश्यक नीतिगत सहयोग प्राप्त हुने अपेक्षा सहितका कुराहरु समावेश गरि ज्ञापनपत्र बुझाएका हुन् ।
पछिल्लो समय नेपालमा व्यावसायीक सटरहरू ३० प्रतिशतभन्दा बढी बन्द भएको तथ्यांक बाहिर आएको छ। यसैगरि काठमाडौंकै मुख्य व्यावसायीक केन्द्रहरू न्यूरोड, असन, ठमेललगायतका स्थानमासमेत धमाधम पसल–सटरहरू बन्दहुँदै जादा व्यावसायीहरू चिन्तित देखिन्छन् । यस्तो अवस्थामा बेलैमा सचेत भइ आवश्यक कदम चाल्नु पर्ने संघका अध्यक्ष गौतमको जोड छ ।