काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका विभिन्न खोला/नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न ठेक्का प्रक्रियाबाट जाने नगरपालिकाको निर्णय विरूद्ध संघर्ष समिति कडा प्रतिशोधमा उत्रिएको छ । कहिले वडा कार्यालय घेराउ त कहिले नगरपालिका घेराउ गर्न लागिपरेको छ ।
मंगलबार नगर घेराउ गर्न पुगेको संघर्ष समिति सहित प्रभावित स्थानीयहरूलाई पन्छाउदै नगरपालिकाले त्रिपक्षीय बैठक बसायो । जसमा दुई वडा अध्यक्ष वाहेक सबैले सहमति जनाए । जसमा प्रभावित क्षेत्र रहेको वडा नम्बर ८ का वडा अध्यक्ष भने सहभागी रहेनन् । तर वडा नम्बर ८ का स्थानीयको सहभागी भनी जय बहादुर जप्रेल र सचिन कुमार चलाउने सहित केहिको हस्ताक्षर गरियो । बुधबार एक बिज्ञप्ती जारी गर्दै उनीहरूले सहमति अस्वीकार भएको भनेका छन् । नगरपालिकाले झुक्याएर सहमति पत्रमा हस्ताक्षर गरेकाले अस्वीकार भएको भनी विज्ञप्ति सार्वजनिक गरेका छन् ।
नगरमा नदीजन्य पदार्थ उत्खनन् प्रकरणमा स्थानीय र नगरपालिकाविच अझै सहमती हुन सकेको छैन । नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८०मा नदीजन्य पदार्थ उत्खनन् बाफत रोयल्टी संकलनका लागि ठेक्का लगाएसंगै स्थानीय आन्दोलित भएका हुन ।
तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
नगरपालिकाले बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिलाई ६८ लाख १३ हजारमा ठेक्का लगाएको हो ।