अनिश्चितकालका लागि श्रम स्वीकृति रोकियो

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएको हो । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अर्थात् वैशाख १२ गतेभन्दा अगाडि ‘नो अब्जेक्सन सर्टिफिकेट’ नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले तत्कालका लागि श्रमस्वीकृति स्थगित गरिएको जानकारी दिनुभयो ।
उहाँले वैदेशिक रोजगार विभागअन्तर्गत श्रम कार्यालयबाट अन्तिम र पुनः श्रम स्वीकृतिका काम सरकारको अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको पनि जानकारी दिनुभयो । महानिर्देशक दाहालका अनुसार श्रम कार्यालयबाट पूर्व श्रम स्वीकृति दिने र अन्य नियमित काम भने नरोकिँदैन ।
दैनिक एक हजार जनाले श्रम स्वीकृति लिएर विदेशिने गरेकोमा कतारले रोकेसँगै दुई सयमा झरेको थियो । साङ्केतिक रूपमा धेरै देशबाट श्रमिकको माग आउन छोडिसकेको थियो ।
कोरोना भाइरसबाट बच्नका लागि अन्य देशले पनि आवश्यक सतर्कताअनुरूप अन्तर्राष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो ।
नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई)लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ । त्यस्तै कुवेतले बिहीबारदेखि सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा पनि दिएको छ ।
कुवेतले शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ । साउदीले पनि नेपालबाट हुने सीधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीनवटा विमानस्थल मात्र खुला गरेको छ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै भारतले पनि आफ्नो देशका नागरिकलाई समेत अन्य देशबाट आउन प्रतिबन्ध लगाएको छ भने सीमानाका बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै नेपालले तेस्रो देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा शनिबारदेखि वैशाख १८ सम्मका लागि रोक
लगाएको छ ।
विदेशीलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित बिरामीको सङ्ख्या निकै कम भए पनि अन्य देशमा भने बढ्दै गएको छ । बिहीबार चीनले कोरोनामुक्त भएको घोषणा गरिसकेको छ ।

 

श्राेत  : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्