सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ । सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ । लामो समयदेखि शासक रहेका उमर अल–बशीरलाई दुई वर्षअघि सत्ताबाट हटाएपछि राजनेता र उनका सैन्य समकक्षबीच मतभेद चलिरहेको छ ।

बीबीसी अरबीका मोहम्मद उस्मानले राजधानी खार्तूमबाट दिएको जानकारी अनुसार सोमबार रातीदेखि नै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनी सरकारको बहालीको माग गरिरहेका थिए । एक घाइते प्रदर्शनकारीले मिडियासँगको कुराकानीमा उनलाई सैन्य मुख्यालयबाहिर खुट्टामा सेनाको गोली लागेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्