काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
६८ लाख ९३ हजार ७७८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । सो राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ । ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले मंगलबार मुद्दा दायर गरेको हो । आयोगले आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण व्यवसायी महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको हो ।