नेपाल टेलिकमको रिंगब्याक टोनमा हरिवंशको कोराना गीत ’अर्को जुनी खै कुन्नि’ (भिडिओ सहित)

अर्को जुनी खै कुन्नि
कसलाई थाहा छ र खै
यही जुनीलाई कोरोनाबाट बचौं है…

तपाईं नेपाल टेलिकमको सेवा प्रयोग गर्नुहुन्छ भने टेलिफोन गर्दा यो गीत बजेको याद गर्नुभयो होला। नेपाल टेलिकमको रिंगब्याक टोनमा बज्न थालेको यो सन्देशमूलक गीत गायक–अभिनेता हरिवंश आचार्यले गाएका हुन्।

कोरोना महामारीको सन्दर्भमा एक हप्ताअघि यो सन्देशमूलक गीत गाएका थिए। दिनेश कुमार थपलियाको शब्द र दीपक शर्माको संगीतमा तयार भएको यो गीत महसञ्चारको युट्युब च्यानलबाट गत हप्ताको सोमबार अपलोड गरिएको हो।

’कोरोनाको संकट दिनदिनै बढिरहेको छ। सचेतना जगाउने केही काम गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ। त्यस्तैमा सरोज ओलीजीबाट यो गीत गाउने प्रस्ताव आयो,’ सेतोपाटीसँग टेलिफोनमार्फत् गायक हरिवंशले भने, ’स्वास्थ्य मन्त्रालयको पहलमा नेपाल टेलिकमबाट रिंगब्याक टोनमा गीत बज्दा खुसी लागेको छ।’

यो सन्देश गीत देशभरका रेडियो/एफएम र स्वास्थ्य मन्त्रालयको पहुँच भएका माध्यमहरुमा प्रसारण गरिने तयारी भएकोले यसबाट मानिसमा कोरोनाबारे सचेतना बढाउन उपयोगी हुने विश्वास व्यक्त गरे।

उनका अनुशार सामूहिक हितका लागि बनाइएको यो भिडिओ सन्देश तयार पार्न संलग्न कसैले पनि पारिश्रमिक लिएका छैनन्। हरिवंशले विगतमा पनि स्वास्थसम्बन्धी सचेतना जगाउने धेरै टेलिभिजन र विज्ञापनहरुमा काम गरिसकेका छन्।

उनले भने, ’यसअघि सुरक्षित मातृत्व, कुष्ठरोग, ट्युबरक्लोसिसजस्ता विषयमा टेलिसिरियल र छोटा भिडियोमा काम गरेको आधारमा भन्दा मानिसमा यसले सकारात्मक प्रभाव पारेको पाएको छु। त्यसैले यो कोरोनासम्बन्धी गीतले पनि कोरोनाबारे सचेतना जगाउन मद्दत पुर्याउने विश्वास छ।’

गत वर्षको असोजमा कलाकार हरिवंश आचार्य र उनको परिवारलाई कोरोना संक्रमण भएको थियो। यो बैशाखमा हरिवंशका जोडी मनदकृष्ण श्रेष्ठ र उनको परिवारलाई कोरोना देखिएको छ।

कोरोनासँग लडेर महामारीबारे सन्देश फैलाइरहेका हरिवंश सकेसम्म सावधानी अपनाएर कोरोना लाग्न नदिनु, लागिहाले यसलाई जितेरै छोड्छु भन्ने आत्मविश्वास बलिययो बनाइराख्नु अहिलेको खाँचो रहेको बताउँछन्।

नेपाल टेलिकमको रिंगब्याक टोनपछि चाँडै एनसेलबाट पनि यो सन्देशमूलक गीत बज्ने पनि उनले जानकारी दिए।

हरिवंशले गाएको ’अर्को जुनी खै कुन्नि’ को मेलोडी २ वर्षअघि मेलिना राई र सरोज ओलीको स्वरमा रहेको चर्चित गीत ’अर्को जुनी’मा आधारित छ। यो गीत पनि गीतकार दिनेश थपलियाले नै लेखेका थिए । सेतोपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्