काठमाडौं – भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ ।
सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा आवादी कम भएकाले धेरै क्षति नभएको अनुमान गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले हिमताल फुटेको सूचना आएकाले सतर्क रहन सूचना जारी गरेका छन् । कुनै अप्रिय घटना नहोस् भनेर केही परियोजनाहरुमा रातिको समयमा काम नगर्न निर्देशनसमेत दिइएको उनले जानकारीसमेत दिएका छन् । यसअघि उत्तराखण्डमै हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो केही बेपत्ता छन् । यो घटनामा केही नेपाली मजदुरहरु पनि परेका छन् ।
भारतमा १० हजारभन्दा धेरै हिमताल रहेको बताइन्छ जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् ।