देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेका छन् ।
मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिममा रहेका हुन् । विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि आठ वटा स्थानीय तह पहिराको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
अहिलेसम्म पहिराले पु¥याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए । उनले भने– ‘सुर्नया र पाटनबाहेक अरु स्थानीय तह पहिराको उच्च जोखिममा छन्, यी दुई स्थानीय तहमा पनि जोखिम कायमै छ ।’
जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले विगतका वर्षमा बाढीपहिराले गराएको क्षति र अझै सम्भावना रहेका आधारमा उच्च जोखिममा राखिएको बताए ।
जिल्लाको डिलाशैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिराको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिराको उच्च जोखिममा छन् ।
यस्तै जिल्लाको पुरर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिराको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिराका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए । उनले भने– ‘हरेक वर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भए पनि पहिरो नियन्त्रण हुन सकेको छैन । रासस