धनगढी । पत्रकार राजेन्द्र विष्टको उपचारका क्रममा निधन भएको छ। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष विष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो।
कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिमका इन्चार्ज दिलबहादुर छत्यालले पुष्टि गरेका छन्।
कञ्चनपुर निवासी विष्ट लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा शोक छाएको छ।
विष्ट पछिल्लो समय पारिवारिक शोकमा समेत थिए। गत कात्तिक २२ गते उनकी आमा विष्णादेवी विष्टको निधन भएको थियो। आमाको निधन भएको १८ दिनपछि विष्टको पनि निधन भएको हो। आमाको किरिया सकेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।






