काठमाडौं । जेनजी आन्दोलनपछिको निर्वाचनबाट प्रचण्ड जनमतसहित प्रधानमन्त्री बनेका बालेन्द्र शाह आज आइतबार भारतको राजकीय भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि भारतको राजधानी नयाँ दिल्लीका मुख्य सडकहरू सजाइएको छ । सडक किनारमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन् ।
भारतले विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको स्वागतमा परम्परागत रूपमा गर्दै आएको भव्य तयारीलाई निरन्तरता दिएको छ । तर प्रधानमन्त्री शाहको यो भ्रमण भने विगतका नेपाली प्रधानमन्त्रीहरूको भ्रमणभन्दा केही फरक हुने देखिएको छ । उहाँले विदेश भ्रमणका क्रममा अपनाइँदै आएका केही पुराना कूटनीतिक तथा सरकारी परम्परालाई निरन्तरता नदिने तयारी गर्नुभएको छ ।
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा नेपालका विमानस्थलमा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थितिमा भव्य बिदाइ गर्ने चलन थियो । तर प्रधानमन्त्री शाहले यसपटक त्यस्तो तामझाम नगर्ने हुनुभएको छ । यसअघि अमेरिकाको न्यूयोर्क भ्रमणका क्रममा पनि उहाँले यस्तै परम्परा तोड्नुभएको थियो । भारत भ्रमणमा समेत सामान्य शैली अपनाउने तयारी रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यद्यपि भारतमा भने प्रधानमन्त्री शाहलाई औपचारिक सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिनेछ । उहाँ उक्त कार्यक्रममा सहभागी हुनुहुनेछ ।
करिब २५ घण्टा दिल्लीमा, मोदीसँग एकल भेटवार्ता
प्रधानमन्त्री शाहको भारत भ्रमण छोटो अवधिको हुनेछ । उहाँ आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । सोमबार दिउँसो ४ बजेर ५० मिनेटमा नेपाल फर्किने कार्यतालिका रहेको छ । यसअनुसार उहाँ भारतमा करिब २५ घण्टा मात्रै रहनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले दिल्लीबाहेक अन्य सहरको भ्रमण गर्ने कार्यक्रम छैन । विगतमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्ताका अतिरिक्त विभिन्न परियोजनाको अवलोकन, धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने परम्परा रहे पनि यसपटक त्यस्ता कार्यक्रम राखिएका छैनन् ।
प्रधानमन्त्री शाहको भ्रमणको मुख्य आकर्षण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता हुनेछ । सोमबार हैदरावाद हाउसमा हुने भेटमा दुई प्रधानमन्त्रीबीच एक घण्टाभन्दा बढी एकल छलफल हुने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा विभिन्न कार्यक्रम तथा सहमतिबारे जानकारी गराउने तयारी छ ।
उद्योगी व्यवसायीसँगको भेटको जिम्मा दुई मन्त्रीलाई
विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली उद्योगी तथा व्यवसायीसँग छुट्टै भेटघाट र अन्तरक्रिया गर्ने गरेका थिए । तर प्रधानमन्त्री शाहले यसपटक उद्योगी व्यवसायीसँग प्रत्यक्ष भेटघाट नगर्ने हुनुभएको छ ।
नेपाली तथा भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियाको जिम्मेवारी उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई दिनुभएको छ । दुवै मन्त्रीले दुई देशका उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री शाह नेपाली राजदूतावास जाने कार्यक्रम पनि छैन । दिल्ली पुगेपछि उहाँले आइतबार नै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग आफू बसेको ताज होटलमा भेटवार्ता गर्नुहुनेछ । विगतमा प्रधानमन्त्रीहरूले भारतीय सरकारका विभिन्न मन्त्रीहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने गरे पनि यसपटक विदेशमन्त्री जयशंकरबाहेक अन्य मन्त्रीसँग भेटघाटको कार्यक्रम राखिएको छैन ।
सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह अयोध्या–जनकपुर रेल उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरी उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।
बाढीपछिको पुनर्निर्माणदेखि क्रिकेट र आईटीसम्म सहकार्यको तयारी
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ऋण तथा अनुदान सहयोगसम्बन्धी विषयमा सम्झौता गर्ने तयारी गरिएको छ । यद्यपि यस विषयमा कति रकम बराबरको सहयोगसम्बन्धी सहमति हुन्छ भन्नेबारे सरकारी अधिकारीहरूले औपचारिक जानकारी दिएका छैनन् ।
भ्रमणका क्रममा विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयनको चरणमा लैजाने विषयमा पनि छलफल हुनेछ । त्यस्तै, क्रिकेट, सूचना प्रविधि (आईटी) लगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
नेपाल र भारतबीच यसअघि भएका सहमति तथा सम्झौताका भाषामा एकरूपता कायम हुन नसक्दा संयुक्त वक्तव्य जारी हुन नसकेका उदाहरण छन् । तर यसपटक दुवै पक्षले सहमतिका विषय समेटेर नेपाल–भारत संयुक्त भिजन पेपर सार्वजनिक गर्ने तयारी गरेका छन् ।
आठ महिनापछि भारत भ्रमणमा निस्कँदै प्रधानमन्त्री शाह
प्रधानमन्त्री बनेपछि एक वर्षसम्म विदेश भ्रमण नगर्ने नीति लिनुभएका शाह आफ्नो प्रारम्भिक निर्णय परिवर्तन गर्दै आठ महिनापछि भारत भ्रमणमा निस्कन लाग्नुभएको हो ।
प्रधानमन्त्री बनेलगत्तै भारतले उहाँलाई भ्रमणको निमन्त्रणा दिएको थियो । सोही भ्रमणको तयारीका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने कार्यक्रमसमेत बनेको थियो । तर प्रोटोकल नमिलेको भन्दै प्रधानमन्त्री शाहले उहाँसँगको भेटका लागि सहमति नजनाएपछि त्यसबेला भ्रमण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
आठ महिनापछि भने प्रधानमन्त्री शाह भारत भ्रमणका लागि तयार हुनुभएको हो । यसअघि उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएको थियो । त्यतिबेला भाजपाले उहाँलाई विशेष स्वागत गरेको थियो ।
अब प्रधानमन्त्रीकै रूपमा भारत भ्रमणमा जान लाग्नुभएका शाहलाई भारतले कुन स्तरको कूटनीतिक सम्मान र आतिथ्यता प्रदान गर्छ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ । भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध, आर्थिक सहकार्य तथा आगामी कूटनीतिक दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।




