काठमाडौं – नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमा मात्र २६ रनमा समेटियो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पवन सर्राफले सर्वाधिक ६ रन बनाए । नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतका प्रिन्स यादवले ५ विकेट लिए । त्यस्तै, हर्षित रानाले ४ तथा शाहबाज अहमदले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ए ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो । भारतका कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेलेपछि टोलीले बलियो योगफल तयार पारेको थियो । कुशाग्रले ११७ रन बनाउँदा कप्तान तिलकले १०७ रनको योगदान दिए । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए भने ओपनर वैभव सूर्यवंशीले २६ रन जोडे ।
४२ रनमा ३ विकेट गुमाएर दबाबमा परेको भारतको इनिङ कुशाग्र र तिलकले सम्हालेका थिए । उनीहरूबीच चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी भएको थियो । भारतको स्कोर २४८ रन पुग्दा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक पूरा गरेपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भएका थिए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे । नेपालले प्रतियोगिताको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।




