काठमाडौं – पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण कार्य गर्न भोलि (शनिबार) देखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायतका क्षेत्रमा सडक निर्माण कार्य गर्न बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार निर्माण कार्यका क्रममा पोखराबाट छुटेका सवारीसाधनलाई तनहुँको आँबुखैरेनीमा रोकिनेछ । त्यस्तै, नारायणगढ हुँदै चल्ने सवारीसाधनलाई जुगेडी र आँपटारीमा रोकिने व्यवस्था मिलाइएको छ ।
अन्य सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोकिनेछ । तर, मुग्लिन बजार क्षेत्रमा भने सवारीसाधन नरोक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
सडक निर्माण तथा मर्मत कार्य सम्पन्न गरी राजमार्गमा पूर्ण रूपमा सवारी आवागमन खुलाउन कति समय लाग्ने भन्नेबारे यकिन भइसकेको छैन । ट्राफिक प्रहरीले वैकल्पिक समय मिलाएर यात्रा गर्न तथा सम्भावित जामलाई ध्यानमा राखेर यात्रा तय गर्न सवारी चालकलाई आग्रह गरेको छ ।




