पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

 

काठमाडौं । पश्चिमी वायुको प्रभावले पहाडी तथा हिमाली भेगका केही स्थानमा बिहानैदेखि हल्का वर्षा सुरु भएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। भोलि र पर्सि आजको तुलनामा वर्षाको सम्भावना कम रहे पनि पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। बुधवारदेखि भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

आज केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले पाक्न लागेको धानबालीमा क्षति पुग्न सक्ने भन्दै किसानलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहे पनि त्यसको नेपालमा खासै प्रभाव नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि विकसित भएका केही चक्रवातको प्रभाव नेपालमा समेत पर्ने गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्