काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आफ्नो २७ महिने कार्यकाल उपलब्धिमूलक र आत्मसन्तुष्टिले भरिएको बताएका छन्। जिम्मेवारीबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत अनुभव सार्वजनिक गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद बिरामीको हितलाई प्राथमिकतामा राखेर अस्पतालमा थुप्रै नयाँ सेवा तथा सुविधा विस्तार गर्न सफल भएको उल्लेख गरेका छन्।
उनले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरी सेवा सञ्चालन गर्नुलाई लिएका छन्। यस अवधिमा अस्पतालमा छुट्टै बाल क्यान्सर उपचार वार्ड, डे केयर तथा पीआईसीयू, नयाँ प्रयोगशाला भवन, स्तन क्यान्सर उपचार वार्ड, दन्त सेवा, फ्लोसाइटोमेट्री, पूर्ण प्यानल आईएचसी तथा ईआरसीपी सेवा सुरु गरिएको उनले बताएका छन्। त्यस्तै, मनोवैज्ञानिक परामर्श, फोक्सोसम्बन्धी उपचार, मुटुरोग सेवा, पोषण परामर्श, आकस्मिक औषधि कक्ष र जीवनको अन्तिम अवस्थामा रहेका बिरामीका लागि विशेष उपचार कक्ष सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
अस्पतालको सेवा विस्तारसँगै न्युरो माइक्रोस्कोप, फोहोर व्यवस्थापन प्रणाली, पोर्टेबल एक्स–रे, अल्ट्रासाउन्ड मेसिन र लिफ्टलगायतका पूर्वाधार तथा प्रविधि थपिएको उनले जानकारी दिएका छन्। प्रशासनिक सुधारतर्फ अस्पताल सरकारीकरण भएपछि स्थायी कर्मचारीलाई मन्त्रिपरिषद्को निर्णयमार्फत स्वतः स्थायी गर्ने प्रक्रिया पूरा गरिएको र कर्मचारी सेवा तथा सुविधा विनियमावली स्वीकृत गरी जारी गरिएको उनले स्मरण गरेका छन्।
हाल अस्पतालको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृतिको चरणमा रहेको र अस्पताललाई डिजिटल प्रणालीमा लैजाने विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताएका छन्। तर, तीन दशकदेखि स्वायत्त रूपमा सञ्चालन हुँदै आएको अस्पतालको कानुन संशोधन गरी त्यहीँ कार्यरत स्थायी चिकित्सक कार्यकारी निर्देशक हुन नपाउने व्यवस्था गरिएकामा उनले चासो व्यक्त गरेका छन्। अब अस्पताल प्रतिष्ठान वा समिति कुन स्वरूपमा अगाडि बढ्छ भन्ने विषय अन्योलमै रहेको उनको भनाइ छ।
अस्पताल विस्तारका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएर २०८२ भदौ १९ गते मन्त्रालयमा फाइल पेस गरिएको भए पनि भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मन्त्रालयमा आगलागी हुँदा उक्त प्रयास प्रभावित भएको उनले दुःख व्यक्त गरेका छन्। यद्यपि, जग्गा प्राप्तिको प्रक्रिया नयाँ ढङ्गले पुनः सुरु गरिएको र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग अनुदानमा माग गरिएका स्पेक्ट सिटी र डेक्सा स्क्यान उपकरण प्राप्त हुने निश्चित भएको उनले बताएका छन्।
आफ्नो कार्यकालमा सहयोग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिवहरू तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै डा. चालिसेले नवनियुक्त कार्यकारी निर्देशक डा. निराजन सुवेदीलाई बधाई दिएका छन्। युवा चिकित्सकको जोश र उत्साहले अस्पताललाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले आफू आगामी दिनमा पनि रेडिएसन अंकोलोजिस्टका रूपमा भक्तपुर क्यान्सर अस्पतालमै रहेर बिरामीको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता जनाएका छन्।




