काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। कम स्कोरको रोमाञ्चक खेलमा ८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै जित निकालेको हो।
यस जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ भने जनकपुर र कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएका छन्।
६ खेलमा तेस्रो जित निकालेको चितवनले ७ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। चितवनले लिग चरणको अन्तिम खेल आइतबार कर्णाली याक्ससँग खेल्नेछ।
शनिबार हुने खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भए चितवनले अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्नेछ। विराटनगर विजयी भएमा भने चितवनले कर्णालीलाई हराउनुपर्नेछ।
सातवटै खेल खेलिसकेको जनकपुरले दुई जितबाट ४ अंक मात्रै जोड्न सक्यो। एक खेल खेल्न बाँकी रहेको कर्णालीको पनि ४ अंक मात्रै छ। अन्तिम खेल जिते पनि कर्णाली शीर्ष चारमा पुग्न नसक्ने भएपछि दुवै टोलीको प्लेअफ यात्रा समाप्त भएको छ।
मालानको संयमित ब्याटिङमा चितवनको जित
चितवनको जितमा डाविड मालानले अविजित ३५ रनको योगदान दिए। उनले ३९ बलमा एक छक्का प्रहार गरे। यस्तै कुशल मल्लले १५, रवि बोपाराले १३ र कमिल मिश्राले १२ रन बनाए।
सामान्य लक्ष्य पछ्याउने क्रममा चितवनले खराब सुरुवात गरेको थियो। ओपनर अर्जुन साउद दोस्रो बलमै खाता नखोली आउट भए। ३७ रन जोड्दा पाँच विकेट गुमाएको चितवनलाई मालान र कुशल मल्लले ३० रनको साझेदारी गर्दै जिततर्फ अघि बढाएका थिए।
जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुशलिङले एक विकेट हात पारे।
जनकपुर ८८ रनमै समेटियो
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन बनाएको थियो।
चितवनका स्पिनर रञ्जित कुमार र कप्तान सिकन्दर राजाको उत्कृष्ट बलिङसामु जनकपुरका ब्याटर निरीह देखिए। जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाए। उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
यस्तै विशाल सुशलिङले १३ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे। राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन बनाए। ओपनर सन्तोष कार्कीले १० रन बनाउँदा तृतराज दासले पाँच रन जोडे।
रायन बर्ल ६, आदित्य महता चार, अभिषेक तिवारी चार र ललित राजवंशी दुई रनमा आउट भए। ह्यारी टेक्टरले खाता खोल्न सकेनन्। पाँचौँ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताबीच भएको १८ रनको साझेदारी जनकपुरको सबैभन्दा ठूलो साझेदारी बन्यो।
रञ्जित र सिकन्दरको घातक बलिङ
चितवनका लागि रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए। कप्तान सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन खर्चेर दुई विकेट हात पारे।
कमिल मिश्राले दुई ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। कमल सिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए।
जनकपुरको शीर्ष र मध्यक्रम ध्वस्त पार्न रञ्जित र सिकन्दरको बलिङ निर्णायक बनेको थियो। उनीहरूको उत्कृष्ट प्रदर्शनसँगै चितवनले जनकपुरलाई सस्तैमा समेट्दै महत्वपूर्ण जित निकाल्न सफल भयो।




