काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार काठमाडौँ गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
काठमाडौँका राशिद खानले अविजित ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए ।
एक समय ८ रन बनाउँदा चार विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए । उनीहरूबीच पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी भएको थियो । त्यसपछि दीपेन्द्र र थरिन्दुले छैटौँ विकेटका लागि थप ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।
काठमाडौँका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।
यस जितसँगै सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको काठमाडौँ ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । काठमाडौँको प्लेअफ सम्भावना अझै कायम छ ।
सुदूरपश्चिम यस संस्करणको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि साविक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिसकेको छ ।
सुदूरपश्चिमले यसअघिका दुवै संस्करणमा उपविजेतामा चित्त बुझाएको थियो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।
यसैबीच, एनपीएलमा आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । पाँच खेलबाट ५ अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ भने ६ खेलबाट ४ अंक जोडेको जनकपुर छैटौँ स्थानमा रहेको छ ।




