युवा नेता नवराज ऐरको पहलमा शुक्लाफाँटामा तीनदिने निःशुल्क दन्त उपचार शिविर

कञ्चनपुर । दाँत तथा मुखसम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने स्थानीय नागरिकको बाध्यता अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटामा तीनदिने निःशुल्क दन्त उपचार शिविर सञ्चालन गरिएको छ। युवा नेता नवराज ऐरको पहल तथा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १, २ र १२ को आयोजनामा सहयात्री नेपाल संस्थाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। शुक्लाफाँटा नगरपालिका–१ स्थित कृष्ण आधारभूत विद्यालयमा सोमबारदेखि सुरु भएको शिविरको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले एक समारोहबीच उद्घाटन गर्नुभयो।

शिविरमा स्वदेशी तथा विदेशी चिकित्सक र स्वास्थ्यकर्मी सम्मिलित टोलीले दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याको परीक्षण, उपचार, परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरिरहेको छ। शिविरबाट शुक्लाफाँटा नगरपालिकाका स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

सहयात्री नेपाल संस्थाका प्रमुख डा. डेनिस घिमिरेले तीन हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्यसहित आवश्यक स्वास्थ्य सामग्री र दक्ष स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा दाँत तथा मुखसम्बन्धी समस्याको पहिचान, उपचार तथा स्वास्थ्य परामर्शका सेवा निःशुल्क उपलब्ध गराइनेछ।

आर्थिक अवस्था कमजोर भएका तथा सामान्य दन्त उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले युवा नेता ऐरको पहलमा सञ्चालन गरिएको शिविरले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

वडा नम्बर १ का अध्यक्ष उत्तरदेव भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री भाटले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन दीपकराज भट्टले गर्नुभएको थियो।

तीन दिनसम्म सञ्चालन हुने शिविरबाट स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क दन्त उपचार तथा परामर्श सेवा प्राप्त गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्