एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौंले कर्णाली र सुदूरपश्चिमले चितवनसँग खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। आजको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको काठमाडौं गोर्खाजले लयमा देखिएको कर्णाली याक्सको सामना गर्नेछ। काठमाडौंले यसअघि खेलेको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजय बेहोरेको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य काठमाडौंको हुनेछ।

अर्कोतर्फ, कर्णाली याक्स लगातार तेस्रो जित निकाल्ने योजनामा मैदान उत्रनेछ। कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित हात पारेको छ। उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको छ। आज काठमाडौंलाई हराउन सके कर्णालीले आफ्नो अपराजित यात्रा कायम राख्नेछ। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिमका लागि यो खेल अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने दृष्टिले महत्वपूर्ण हुनेछ। टोलीले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। त्यसैले चितवनविरुद्ध जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने सुदूरपश्चिमको लक्ष्य हुनेछ।

चितवन राइनोज भने हालसम्म प्रतियोगितामा अपराजित रहेको छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। आज सुदूरपश्चिमलाई पराजित गर्न सके चितवनले आफ्नो अपराजित यात्रा कायम राख्दै अंकतालिकामा थप मजबुत स्थिति बनाउने अवसर पाउनेछ। आजका दुवै खेलले टोलीहरूको अंकतालिकाको अवस्थासँगै प्रतियोगिताको आगामी प्रतिस्पर्धालाई पनि थप रोचक बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्