जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स ९ रनले पराजित

काठमाडौं – जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो। यससँगै जनकपुरले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा पोखराले लगातार दोस्रो हार बेहोरेको छ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले २४ बलमा पाँच चौका प्रहार गरे। पोखराका लागि विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन बनाए। दिनेश खरेल ३, महेदी हसन ८, शाकिब अल हसन ९, अर्जुन घर्ती ७, चमिका करुणारत्ने ४ र मोहम्मद सैफुद्दिन शून्य रनमा आउट भए। प्रतिक पोखरेल २ रनमा अविजित रहे।

जनकपुरको जितमा स्पिनरहरूले प्रभावशाली बलिङ गरे। मोइन अलीले तीन विकेट लिए भने कप्तान हर्मीत सिंह र सैफ हसनले दुई–दुई विकेट हात पारे। जिम्मी निशम र ललित राजवंशीले एक–एक विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएको थियो। जनकपुरका ओपनर त्रितराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा सात चौका र एक छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले मोइन अलीसँग ४७ रनको साझेदारी गरेका थिए। मोइनले १६ बलमा २१ रन बनाए।

अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा अविजित २४ रन जोडे। सैफ हसन १, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह समान ९ रनमा आउट भए। पोखराका लागि शाकिब अल हसनले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा १५ रन खर्चिए। चमिका करुणारत्नेले दुई तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले एक–एक विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्