टस गर्न आनाकानी गरेको विषयले सुदूरपश्चिम र विराटनगरको खेल प्रभावित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षा र मैदानको अवस्थाका कारण प्रभावित भएको छ । निर्धारित समय साँझ ५ बजे सुरु हुनुपर्ने खेल टस हुन नसक्दा लामो समयसम्म रोकिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लगातार परेको वर्षाका कारण मैदान भिजेको थियो । वर्षा रोकिएपछि मैदानबाट कभर हटाएर पानी सुकाउने तथा खेल सञ्चालनयोग्य बनाउने प्रयास गरिएको थियो । खेल सुरु हुने प्रतीक्षामा दर्शकसमेत मैदानमा पुगेका थिए ।

मैदानको अवस्था र खेल सञ्चालनका विषयमा भएको ढिलाइसँगै सुदूरपश्चिम रोयल्सले टस गर्न आनाकानी गरेको विषयले पनि खेल सुरु हुन थप ढिलाइ भएको थियो । निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेलको ओभर घटाएर सञ्चालन गर्ने तयारी गरिएको थियो ।

अम्पायरले मैदान निरीक्षण गरेपछि दुवै टोलीबीचको प्रतिस्पर्धा पाँच–पाँच ओभरमा सीमित गर्ने निर्णय गरिएको थियो । संशोधित तालिकाअनुसार साँझ ७ बजेर २५ मिनेटमा टस र ७ बजेर ४१ मिनेटमा खेल सुरु गर्ने समय तय गरिएको थियो ।

यसअघि शनिबार नै हुने तालिका रहेको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल पनि वर्षाका कारण टससमेत नभई रद्द भएको थियो । उक्त खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्