काठमाडौँ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। सरुवा गरिएको कार्यालयमा जान अटेर गर्नुका साथै नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर हुन नदिएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।
मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। मन्त्रालयले ती स्थानीय तहलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई कामकाजमा लगाउनसमेत निर्देशन दिएको छ।
सरकारी कर्मचारीको सरुवा निर्णय कार्यान्वयनमा स्थानीय तहबाट असहयोग भएको भन्दै मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने कदम चालेको हो।




