काठमाडौं – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव देखिन थालेसँगै देशका केही भूभागमा बदली भएको र बिहीबारदेखि विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने महाशाखाको भनाइ छ ।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।
महर्जनका अनुसार शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना पनि रहेको छ ।
सम्भावित वर्षाले कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पार्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् महर्जनले आग्रह गर्नुभएको छ । धानबाली भित्र्याउने किसानलाई मौसम पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई प्रतिकूल मौसममा सुरक्षित स्थानमा रहन उहाँले सुझाव दिनुभएको छ ।
वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ ।




