एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए। पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। मेहदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१, साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन जोडे।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिए। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्नेछन्। दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्