डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा लागूऔषधविरुद्ध अभियान, १२० ग्राम ब्राउन सुगर बरामद

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको एपीएफ इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। ब्युरोले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। २०८३ कात्तिक ९ गते राति ९ः४५ बजे प्राप्त सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-३२ स्थित विश्राम गेस्टहाउसको दोस्रो तलामा रहेको कोठा नम्बर ६ मा छापा मारेको थियो। त्यस क्रममा पाँचथरको फालेलुङ गाउँपालिका-५ घर भएका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई ब्राउन सुगरको बिक्री–वितरण भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट अन्दाजी १२० ग्राम ब्राउन सुगर, दुई थान एन्ड्रोइड मोबाइल फोन, भारतीय रुपैयाँ ५०० दरका तीन थान नोट, एक अमेरिकी डलर, नेपाली रुपैयाँ ५०० दरका आठ थान नोट र १०० दरको एक थान नोट बरामद गरिएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २० गणमा बुझाइएको थियो। गणले थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको अभियानअन्तर्गत उक्त कारबाही गरिएको हो। एपीएफ इन्टेलिजेन्स ब्युरोले प्रमुख डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा लागूऔषध तस्करी तथा अवैध कारोबारविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्