काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले विभिन्न क्षेत्रसँग सम्बन्धित ४० किसिमका तथ्याङ्क सङ्कलन, अध्ययन तथा सर्वेक्षणका काम अघि बढाएको छ। यसअघि सुरु भएर पूरा हुन बाँकी रहेका र चालु आर्थिक वर्षमा नयाँ रूपमा सञ्चालन गरिएका कार्यक्रममार्फत आर्थिक, सामाजिक, जनसाङ्ख्यिक, औद्योगिक, पर्यटन तथा श्रम क्षेत्रका तथ्याङ्क सङ्कलन गर्न लागिएको हो। नीति निर्माण, विकास योजना तर्जुमा तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कार्यालयले आफ्ना विषयगत शाखा तथा मातहतका निकायलाई सक्रिय बनाएको छ। कार्यालयको कार्ययोजनाअनुसार तथ्याङ्कसम्बन्धी कार्यक्रमलाई गणना, सर्वेक्षण, अध्ययन तथा नियमित कार्यमा विभाजन गरिएको छ।
कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना, २०८२; राष्ट्रिय औद्योगिक गणना, २०८३ र राष्ट्रिय जनगणना, २०८८ सम्बन्धी तयारी तथा कार्य अघि बढाइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क प्रशोधन, विश्लेषण र नतिजा प्रकाशन गर्ने कार्यक्रम छ। यसका लागि आवश्यक तथ्याङ्क देशभरबाट सङ्कलन गरिसकिएको कार्यालयले जनाएको छ। राष्ट्रिय औद्योगिक गणनाका लागि सामग्री निर्माण तथा तथ्याङ्क सङ्कलन र आगामी राष्ट्रिय जनगणनाका लागि आवश्यक दस्ताबेज तयार गर्ने काम पनि अघि बढाइनेछ।
सर्वेक्षणतर्फ कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। आन्तरिक पर्यटन सर्वेक्षणबाट प्राप्त प्रदेशस्तरीय नतिजा सार्वजनिक गर्ने कार्ययोजना छ। त्यस्तै, स्वास्थ्यसेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, २०८२; व्यावसायिक तरकारीबाली सर्वेक्षण, २०८२; स्थल यातायात सर्वेक्षण, २०८२ तथा सहकारी क्षेत्रको अध्ययन तथा सर्वेक्षण, २०८२ का तथ्याङ्क प्रशोधन, विश्लेषण र नतिजा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
चौथो नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्याङ्क सङ्कलन, प्रशोधन तथा विश्लेषण पनि चालु आर्थिक वर्षमा गरिनेछ। यसैगरी व्यावसायिक चिया तथा कफी खेती सर्वेक्षण, २०८३; मत्स्यपालन सर्वेक्षण, २०८३ र विदेशी पर्यटकले नेपालमा गर्ने खर्चसम्बन्धी सर्वेक्षण, २०८३/८४ को तयारी तथा तथ्याङ्क सङ्कलनका काम अघि बढाइने कार्यालयको कार्ययोजनामा उल्लेख छ।
कार्यालयले आगामी वर्षका लागि वार्षिक घरपरिवार सर्वेक्षण, २०८४; अन्तरजनगणना जनसाङ्ख्यिकीय तथा समावेशीकरण सर्वेक्षण, २०८४ र पाँचौँ नेपाल जीवनस्तर सर्वेक्षणका सामग्री तयार गर्ने योजना पनि बनाएको छ। यसबाहेक उखु खेतीसम्बन्धी अध्ययन, सहरी क्षेत्रमा रहेका केन्द्रीय अस्थायी जनसङ्ख्यासम्बन्धी अध्ययन तथा सुन्तलाबाली सर्वेक्षण वा अध्ययनसमेत सञ्चालन गरिनेछ।
तथ्याङ्कको गुणस्तर र उपयोगिता बढाउन कार्यालयले राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन, पर्यटन स्याटेलाइट लेखा तथा राष्ट्रिय स्थानान्तरण लेखाजस्ता कार्यक्रम पनि अघि बढाउने भएको छ। नियमित कार्यक्रमअन्तर्गत मूल्य तथा उत्पादन सूचकाङ्क तयार गर्ने, राष्ट्रिय लेखाको अनुमान गर्ने, राष्ट्रिय तथ्यगत विवरण अद्यावधिक गर्ने, पालिका प्रोफाइल तयार गर्ने, तथ्याङ्कसम्बन्धी मानक तथा गुणस्तर निर्धारण गर्ने र अन्तर्राष्ट्रिय तुलना तथा वातावरणसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने कामलाई निरन्तरता दिइनेछ।
कार्यालयले तथ्याङ्क सङ्कलन, सर्वेक्षण तथा अध्ययनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा करिब २३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। यसमध्ये राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि पाँच करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, चौथो नेपाल श्रमशक्ति सर्वेक्षणका लागि पाँच करोड ३३ लाख रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ।
विभिन्न क्षेत्रका तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन, विश्लेषण र सार्वजनिक गर्न सकेमा सरकारलाई प्रमाणमा आधारित नीति तथा योजना निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ।




