काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ। यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
त्यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर परिचय तथा मतदाता नामावली रुजु गराएपछि मतदान गर्न पाउने व्यवस्था गरिएको छ। मतदानसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।




