काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि अम्बिका चलाउनेले उम्मेदवारी घोषणा गरेकी छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा स्ववियु नेतृत्व, नेपाल विद्यार्थी संघको केन्द्रीय जिम्मेवारी, नेपाली कांग्रेसको संगठनात्मक भूमिकादेखि स्थानीय सरकारको नेतृत्वसम्म पुगेकी अम्बिका चलाउने अब नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आफ्नो दाबी गरेकी छन्।
पञ्चदेवल विनायक नगरपालिकाको उपप्रमुख हुँदै नगर प्रमुखको जिम्मेवारी सम्हालेकी चलाउनेले आफूले विद्यार्थी संगठन, पार्टी र स्थानीय तहमा हासिल गरेको लामो राजनीतिक अनुभवलाई अब पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषण गरेकी हुन्। चलाउनेको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाई तहबाट सुरु भएको हो। विद्यार्थी राजनीतिमै सक्रिय रहँदा २०६५ सालमा अछामको पञ्चदेवल क्याम्पसको स्ववियु सभापति निर्वाचित भएकी चलाउनेलाई स्ववियुको नेतृत्वले विद्यार्थीका मुद्दा, संगठन निर्माण र नेतृत्व विकासमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर दियो।
त्यसैगरी नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन। केन्द्रीय तहको जिम्मेवारी पाएपछि चलाउनकोे राजनीतिक सक्रियता जिल्लाको सीमाभन्दा बाहिर फैलिएको थियो। नेपाल विद्यार्थी संघको संगठन विस्तार र सुदृढीकरणका लागि देशका विभिन्न जिल्लामा पुगेर संगठन निर्माणमा सक्रिय चलाउनेले विद्यार्थी संगठनलाई थप चलायमान बनाउने अभियानमा आफूलाई केन्द्रित गरेकी थिइन।
नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष बन्ने आकांक्षासहित उनी अधिवेशनमा सक्रिय रूपमा होमिएकी भएपनि अपेक्षित रूपमा अधिवेशन सम्पन्न हुन नसकेको परिस्थितिले उनको राजनीतिक सक्रियतामा भने विराम लगाएन । नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै उनले पार्टीको विभिन्न तहमा आफ्नो भूमिका विस्तार गर्दै आएकी छन्। नेपाली कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भई पार्टीको संगठनात्मक गतिविधिमा जोडिएकी चलाउने १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी छन्।
चलाउनेको राजनीतिक यात्राको अर्को महत्वपूर्ण अध्याय हो स्थानीय तहको नेतृत्व । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पञ्चदेवल विनायक नगरपालिका अछामको उपप्रमुख निर्वाचित हुँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएकी छन्। नगर प्रमुखका रूपमा स्थानीय जनप्रतिनिधिको भूमिकामा रहेर काम गर्दा उनले विकास निर्माण, सेवा प्रवाह, जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध तथा स्थानीय सरकार सञ्चालनको प्रत्यक्ष अनुभव हासिल गरेकी छन्।
समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चलाउनेले विद्यार्थी राजनीति, पार्टी संगठन र स्थानीय तहमा हासिल गरेको अनुभवलाई नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रयोग गर्ने लक्ष्य लिएकी छन्। युवा पुस्ताको सहभागिता, संगठन सुदृढीकरण, स्थानीय तहका अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने तथा पार्टीलाई जनतासँग अझ नजिक पु¥याउने विषयलाई प्राथमिकतामा राख्दै आफू केन्द्रीय राजनीतिमा योगदान गर्न चाहेको उनको भनाइ छ।
राजनीतिमा इकाईबाट सुरु भएको यात्रा अहिले नगर नेतृत्व हुँदै पार्टीको केन्द्रीय सदस्यको दाबीसम्म पुगेको छ। विद्यार्थी राजनीतिमा संगठन निर्माणदेखि स्थानीय सरकारको नेतृत्वसम्मको अनुभव बोकेकी चलाउनेले अब आफूलाई राष्ट्रिय राजनीतिको भूमिकाका लागि तयार भएको सन्देश दिएकी छन्। उनको उम्मेदवारी केवल एउटा पदका लागि हुने प्रतिस्पर्धाका रूपमा मात्र नभई विद्यार्थी राजनीति, संगठन निर्माण र स्थानीय तहको नेतृत्वबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय राजनीतिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।




