काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौंको ऐतिहासिक खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन समारोह आयोजना हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई कांग्रेसले निमन्त्रणा गरेको छ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेतृत्व सहभागी हुने अपेक्षा गरिएको छ। भारत, चीनलगायत विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई समेत उद्घाटन सत्रमा सहभागी हुन निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
यसपटक महाधिवेशनमा करिब ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रतिनिधि आउने व्यवस्था रहेकामा यसपटक उक्त संख्या बढाएर ३३ जना पुर्याइएकाले प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढेको हो।
महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र सञ्चालन हुनेछ। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।
नयाँ नेतृत्वका लागि निर्वाचन
महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री तथा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। निर्वाचनका लागि काठमाडौंका सात स्थानमा मतदान केन्द्र व्यवस्थापन गर्ने तयारी गरिएको छ। सात प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै व्यवस्था गरी एक मतदान केन्द्रबाट करिब १ हजार मतदाताले मतदान गर्न सक्ने गरी तयारी भइरहेको जनाइएको छ।
यसपटक कांग्रेसले विद्युतीय मतदान मेसिन प्रयोग नगर्ने भएको छ। एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न कम्तीमा ५० मिनेटसम्म लाग्न सक्ने अनुमान गरिएको छ।
निर्वाचनबाट आउने केन्द्रीय कार्यसमितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ। त्यस्तै, केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष तथा तीन सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था गरिएको छ। नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन्। यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति २३१ सदस्यीय बन्नेछ। यसअघि केन्द्रीय कार्यसमिति १६८ सदस्यीय थियो।
कांग्रेसले यसपटक विभिन्न पेसा, क्षेत्र तथा समुदायमा रहेका व्यक्तिहरूलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने तयारी गरेको जनाएको छ।
३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारीमा
महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ। खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहित हेल्थ डेस्क तयार गरिएको आयोजकले जनाएको छ।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। दुई सिफ्टमा सञ्चालन हुने हेल्थ डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन्। रक्तचाप, सुगर परीक्षणसँगै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिलगायत आवश्यक सामग्री निःशुल्क उपलब्ध गराइनेछ।
गम्भीर स्वास्थ्य समस्या देखिएमा प्रतिनिधिलाई तत्काल अस्पताल लैजान वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ। रातिको समयमा समेत आवश्यक परे स्वास्थ्य सेवा उपलब्ध गराउन ‘अन कल’ व्यवस्था गरिएको तथा होटलमा बसेका प्रतिनिधिलाई समस्या परे होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको डा. केसीले जानकारी दिएका छन्।
नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुनेछ।
तामझाम नगर्ने कांग्रेसको तयारी
कांग्रेसले महाधिवेशनमा अनावश्यक तामझाम नगर्ने जनाएको छ। उम्मेदवार तथा प्रतिनिधिहरूलाई पर्चा तथा पोस्टर टाँस्न निरुत्साहित गर्दै सकेसम्म प्रविधिको प्रयोग गर्न आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसारमा जोड दिँदै कांग्रेसले सबै उम्मेदवारलाई सोहीअनुसार प्रचार गर्न आग्रह गरेको छ।
महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र राष्ट्रिय सभागृहमा दर्ता गरिनेछ। सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ।
प्रतिनिधिका लागि आठ स्थानमा पार्किङ
महाधिवेशनमा आउने प्रतिनिधि तथा सहभागीका सवारीसाधनका लागि काठमाडौंका विभिन्न आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ। धरहराको भूमिगत पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल प्रयोग गरिनेछ।
काठमाडौं उपत्यकाबाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डलदेखि भद्रकालीसम्मको सडकको एक भागलाई पार्किङका रूपमा प्रयोग गर्ने गरी ट्राफिक प्रहरी तथा जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको छ।
धरहरा भूमिगत पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्य तोकिएका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।




