डोल्पा – डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा समस्या आएको हो । पाङ्ग्रामा सामान्य समस्या देखिएको र जहाजमा अन्य कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिएकी छन् ।
प्रतिकूल मौसमका कारण जुफाल विमानस्थलमा अन्य उडानसमेत हुन नसकेको जनाइएको छ । सामान्य समस्या आएको जहाज अहिले धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ । यात्रुहरूको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन।



