तीन वर्षअघि नेपालमा दिएको चेतावनी अहिले यथार्थमा परिणत हुँदैछ : गुटेरेस

 

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले अझ गम्भीर रूपमा देखिन थालेको बताउनुभएको छ। न्यूयोर्कमा मंगलबारदेखि सुरु भएको संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहसको उद्घाटनमा बोल्दै गुटेरेसले जलवायु संकटका कारण सबैभन्दा बढी प्रभावित भइरहेका नेपालजस्ता देशको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो। 

गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रको भ्रमणका क्रममा तीव्र गतिमा भइरहेको हिमनदी पग्लाइबारे आफूले विश्वलाई सचेत गराएको स्मरण गर्नुभयो। उहाँले त्यतिबेला ‘विश्वको छानो खसिरहेको’ भन्दै दिएको चेतावनीलाई कतिपयले खतरालाई बढाइचढाइ गरेर प्रस्तुत गरिएको ठाने पनि अहिले जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताउनुभयो। 

गुटेरेसले सन् २०२३ मा नेपाल भ्रमणका क्रममा पनि हिमनदी पग्लने क्रम तीव्र बन्दै गएको बताउनुभएको थियो। त्यतिबेला उहाँले नेपालले तीन दशकभन्दा केही बढी अवधिमा आफ्नो हिमबरफको करिब एक तिहाइ गुमाएको र पछिल्लो दशकमा हिमनदी पग्लने गति अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले तीव्र भएको उल्लेख गर्नुभएको थियो। 

महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सबैभन्दा बढी त्यस्ता मुलुकले व्यहोर्नुपरेको बताउनुभयो, जसको हरितगृह ग्यास उत्सर्जनमा योगदान तुलनात्मक रूपमा न्यून छ। उहाँले यस अवस्थालाई पुस्ताबीचको गम्भीर असमानताको उदाहरणका रूपमा प्रस्तुत गर्दै बढी उत्सर्जन गर्ने देशहरूले जलवायु संकटबाट प्रभावित मुलुकलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। 

उहाँले जलवायु संकट सामना गर्न विश्व समुदायले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्नुपर्ने बताउँदै विकसित देशहरूलाई जलवायु अनुकूलनका लागि थप वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो। महासचिव गुटेरेसका अनुसार अहिलेको जलवायु संकटले विश्वका विभिन्न क्षेत्रमा बाढी, खडेरी, हिमनदी पग्लने र अन्य प्राकृतिक जोखिमलाई थप गम्भीर बनाइरहेको छ। 

नेपालसहित हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकहरूले लामो समयदेखि जलवायु न्याय, अनुकूलन वित्त र जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गर्दै आएका छन्। महासभाको उद्घाटन सम्बोधनमा नेपाललाई पुनः उदाहरणका रूपमा प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु संकटको असर सामना गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्ने सन्देश दिनुभएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्