काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गते गरी उक्त वडामा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रका वडामा भने अधिवेशन हुन बाँकी छ। रसुवा, नुवाकोट र धादिङका वडासहित सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङको क्षेत्र नं. ६, रौतहटको क्षेत्र नं. १, सर्लाहीको क्षेत्र नं. २ तथा परासी क्षेत्र नं. २ मा अधिवेशन प्रक्रिया बाँकी रहेको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थानीय अवस्था तथा सम्बन्धित निर्वाचन अधिकृतसँगको समन्वयमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ। धादिङमा असोज ५ गते वडा अधिवेशन गर्ने निर्णय भएको जिल्ला कांग्रेसले जनाएको छ। वडा अधिवेशन कांग्रेसको केन्द्रीय महाधिवेशनको प्रारम्भिक तथा महत्वपूर्ण आधार हो। वडा अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुन्छ। क्षेत्रीय प्रतिनिधिहरूले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सहभागी भएर महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका छ। त्यसअघि वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कांग्रेसको निर्वाचन कार्यतालिका रहेको छ। केन्द्रीय निर्वाचन समितिले बाँकी रहेका वडामा तोकिएको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रका सरोकारवालालाई आग्रह गरेको छ।



