काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि श्रीपाली वस्न्यात समाज नेपालले १ लाख ३४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी पुनर्स्थापना कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले समाजले उक्त रकम प्रदान गरेको हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्न सामाजिक संघ-संस्था तथा समुदायबीचको सहकार्य आवश्यक रहेको समाजले जनाएको छ।

समाजका अध्यक्ष मेजर थम्मनबहादुर वस्न्यातले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्को समयमा पीडितको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। हामीले प्रदान गरेको यो सहयोग रकम मात्र होइन, भोटेकोशी बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीप्रतिको हाम्रो ऐक्यबद्धता, सद्भाव र साथको प्रतिबद्धता पनि हो।”
अध्यक्ष वस्न्यातले राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा समेत ध्यान दिनुपर्ने बताउँदै विपद्को घडीमा सबै पक्षबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।

“विपद् कसैको व्यक्तिगत समस्या मात्र होइन, यो सम्पूर्ण समाजको चुनौती हो। सक्षम व्यक्ति, सामाजिक संघ–संस्था तथा विभिन्न निकायले आफ्नो क्षमताअनुसार सहयोग गर्न सके प्रभावित परिवारमा नयाँ आशा र आत्मविश्वास पैदा गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
श्रीपाली वस्न्यात समाज नेपालले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।
भोटेकोशी बाढीपीडितका लागि समाजले गरेको सहयोगले विपद्को समयमा सामाजिक एकता, सहकार्य र मानवीय भावनालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।



