कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याइने भएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ‘डाइभर्सन ट्र्याक’ खोलेर सडक सुधारको काम अघि बढाइएको थियो । सडक विभागले नयाँ ट्र्याकमा ग्रेड मिलाउने तथा ग्राभेल गर्ने काम अन्तिम चरणमा पुगेकाले बिहीबारदेखि दुवैतर्फका सवारी साधन सञ्चालन गर्ने तयारी गरेको हो ।

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार नयाँ ट्र्याकमा अहिले सडकको ग्रेड मिलाउने काम भइरहेको छ । ग्रेड मिलाएपछि आवश्यक स्थानमा ग्राभेल हालेर सवारी सञ्चालनका लागि उपयुक्त बनाइनेछ । बाढीका कारण सडक भासिएको सात दिनपछि भदौ २० गते उक्त क्षेत्रमा वैकल्पिक ट्र्याक खोलिएको थियो । सडक विभागका प्राविधिक टोलीले ट्र्याकको अवस्था, माटोको स्थायित्व तथा सवारी सञ्चालनको जोखिम निरन्तर निगरानी गरिरहेका छन् ।

कृष्णभीरमा सडक भासिएको करिब २५२ मिटर खण्डलाई लक्षित गरी नयाँ ट्र्याक खोल्ने तथा सुधार गर्ने काम भइरहेको महानिर्देशक जैसीले बताए । छिटो सडक सञ्चालनमा ल्याउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीबीच समझदारीपत्र (एमओयू) गरेर प्राविधिक काम अघि बढाइएको थियो । सोसाइटीमार्फत ट्र्याक खोल्ने काम सम्पन्न भएपछि अहिले विभागका प्राविधिक टोलीले सडक सुधार तथा सवारी सञ्चालनको तयारी गरिरहेका छन् ।

‘अहिले सडक सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारीमा छौँ । बिहीबारदेखि दुईतर्फी नै सवारी खुला गर्छौं,’ महानिर्देशक जैसीले भने, ‘सवारी सञ्चालनमा आएपछि पनि प्राविधिक टोली त्यहीँ बसेर सडकको अवस्था निरन्तर निगरानी गर्नेछ ।’ उनका अनुसार तत्कालका लागि नयाँ ट्र्याकमार्फत सवारी सञ्चालन गरिए पनि सडकको दीर्घकालीन स्थायित्वका लागि थप प्राविधिक काम भने जारी रहनेछ ।

दीर्घकालीन समाधानका लागि कृष्णभीरको पारिपट्टिबाट सडक सुधार गर्ने काम पनि भइरहेको विभागले जनाएको छ । बाढी तथा पहिरोका कारण जोखिममा परेको यस खण्डको स्थायी समाधानका लागि सुरुङ निर्माण गर्ने वा पुल बनाउने विकल्पबारे समेत अध्ययन भइरहेको महानिर्देशक जैसीले बताए । भूगोल, सडकको जोखिम र प्राविधिक सम्भाव्यताको अध्ययनपछि दीर्घकालीन संरचना तय गरिनेछ ।

नयाँ ट्र्याक सञ्चालनमा आएपछि यात्रुवाहक बस तथा अन्य सवारीसँगै ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलगायतलाई समेत आवागमनको सुविधा मिल्ने विभागले जनाएको छ । पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख मार्ग भएकाले सडक अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमै प्रत्यक्ष असर परेको थियो ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु, खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवागमन प्रभावित भएको थियो । दुईतर्फी सवारी सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र बाहिरी जिल्लाबीचको आवागमन सहज हुनुका साथै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्