ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै विभिन्न प्रदेशका सभापतिहरूको समेत सहभागिता रहने कांग्रेसले जनाएको छ।
बैठकमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा छलफल हुने भएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि पार्टीले अघि बढाउनुपर्ने भूमिकाबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ।
त्यसैगरी बैठकमा पार्टीका समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा समेत छलफल हुने जनाइएको छ। पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाका विषयमा आवश्यक निर्णय लिने तयारी कांग्रेसको छ। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।



