नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ‘ग्लोबल साउथ’को सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान विश्व शासन संरचनामा शक्ति र निर्णय निर्माणको अधिकार सीमित देशमा केन्द्रित रहेको भन्दै यसलाई सबै देशको समान सहभागिता र साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मोदीले विश्वका विभिन्न संकटको प्रत्यक्ष प्रभाव ग्लोबल साउथका देशहरूले भोग्दै आए पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा भने उनीहरूको प्रभाव अपेक्षाकृत कमजोर रहेको बताउनुभयो । विश्व शासन प्रणालीलाई थप समावेशी, प्रतिनिधिमूलक र न्यायपूर्ण बनाउन ब्रिक्सले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । विश्व शासन सुधारका लागि भारतले ब्रिक्ससमक्ष १० वटा प्रस्ताव अघि सारेको छ । ती प्रस्तावका आधारमा आगामी शिखर सम्मेलनसम्म ‘ब्रिक्स रिफर्म रोडम्याप’ तयार गर्नुपर्ने मोदीले बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लगायत अन्तर्राष्ट्रिय संस्थाहरूमा आवश्यक सुधार गर्न अब थप ढिलाइ गर्न नहुनेमा समेत जोड दिनुभएको छ ।
यसपटकको ब्रिक्स सम्मेलनलाई भारत, चीन र रुसबीचको उच्चस्तरीय भेटवार्ताका कारण पनि महत्वपूर्ण रूपमा हेरिएको छ । करिब १० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगै देखिन लाग्नुभएको हो । सन् २०२० मा भारत–चीन सीमाको गलवान क्षेत्रमा भएको झडपपछि पहिलोपटक चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत भ्रमणमा पुग्नुभएको हो । सम्मेलनका क्रममा सी र मोदीबीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुने तयारी छ । दुई नेताबीचको भेटलाई भारत–चीन सम्बन्ध सुधार तथा सीमा विवादका विषयमा संवाद अघि बढाउने दृष्टिले महत्वपूर्ण मानिएको छ ।
ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । सम्मेलनस्थल तथा त्यस आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाइएको छ भने विदेशी राष्ट्रप्रमुखहरूको आवागमनलाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



