काठमाडौँ – नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण हवाई ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ। विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको निगमले जनाएको हो।
निगमका अनुसार सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा राहत सामग्री ढुवानी गर्दा शुल्क छुट प्रदान गरिनेछ। खाद्यान्न, औषधी, लत्ताकपडालगायत बाढीपीडितका लागि आवश्यक अन्य राहत सामग्रीमा उक्त सुविधा लागू हुने निगमले जनाएको छ।
विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यस निर्णयबाट विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो, सहज र कम लागतमा पुर्याउन सहयोग पुग्ने निगमको विश्वास छ। निगमले प्राकृतिक विपद्को कठिन समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगलाई प्राथमिकता दिएको जनाएको छ।



