जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त

बुटवल – लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ। प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम उक्त सूचना प्रकाशन गरिएको हो।

जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय तथा सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार काफ्लेलाई पटकपटक स्पष्टीकरणको अवसर दिइए पनि त्यसलाई बेवास्ता गर्दै पार्टी तथा संसदीय दलको निर्णयविपरीत गतिविधि गरेको आरोपमा कारबाही गरिएको हो।

जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयबाट काफ्लेलाई कारबाही गरिएको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको थियो। उक्त पत्र सभामुखसमक्ष पेस भएपछि प्रदेशसभा बैठक सञ्चालनमा नरहेको अवस्थामा प्रचलित कानुनी व्यवस्थाअनुसार दल त्यागसम्बन्धी सूचना सचिवालयको सूचनापाटीमा प्रकाशन गर्न निर्देशन दिइएको थियो।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको छ। पार्टीले प्रदेशसभा सदस्य पदबाट निष्कासन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार प्रदेशसभा सचिवालयले औपचारिक रूपमा प्रकाशन गरेको सूचनामा उल्लेख छ। काफ्लेमाथि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीप उल्लङ्घन गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोप लगाइएको छ। सोही विषयलाई आधार बनाएर पार्टीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्