काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार नयाँ बानेश्वरस्थित तत्कालीन सङ्घीय संसद् भवन परिसरमा आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
गृहमन्त्री गुरुङले सम्पूर्ण जेनजी युवा पुस्तालाई सरकारप्रति ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण जेनजी युवा पुस्ता ढुक्क हुनुहोस्, मुलुकमा सुशासन कायम भई भ्रष्टाचार अन्त्य हुन्छ । हाम्रा माग र सपना पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो पनि मेरो शिरबाट ।”
उहाँले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विश्वास गरेको भन्दै जेनजी पुस्ताको आशालाई मर्न नदिने विश्वास दिलाउनुभयो । जनताले विश्वास गरेर आफूलाई जिम्मेवारीमा पुर्याएको उल्लेख गर्दै गुरुङले त्यसको सम्मानस्वरूप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।
“म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, जबसम्म मेरो यो ज्यानमा प्राण छ कुनै नेपालीलाई दुःख हुन दिने छैन,” उहाँले भन्नुभयो । गृहमन्त्री गुरुङले लोकतन्त्र स्थापना भइसकेपछि पनि युवाहरूले आफ्नो आवाज उठाउँदा तत्कालीन सरकारले त्यसको जवाफ गोलीबाट दिनुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।




